रौतहटको न्यूनतम तामक्रम ४ डिग्रीमा, आम जनजिवन कष्टकर

3776

रौतहट, १३ पुस । विगत दुई साता देखि निरन्तर रुपमा चलिरहेको पश्चिमा वायु संगै बढेको मुटु काम्ने चिसोबाट रौतहटको जनजिवन नराम्ररी प्रभावित भएको छ ।
पश्चिमी वायुको वेग संगै निरन्तर रुपमा चलिरहेको शितलहरबाट आइतबार रौतहट सदरमुकाम गौर सहित ग्रामिण भेगका सम्पूर्ण पालिकाहरुमा बसोबास गर्ने जनताहरुलाई मुटु काम्ने चिसोबाट निकै प्रभावित बनाएको हो ।
गत ६ दिन देखि घाम नलागेको कारण यहाँको वातावरण निकै चिसिदै गएको छ । आजको न्यूनतम तामक्रम ४ डिग्रीमा पुगेपछि कठ्याग्रिदो चिसोबाट आम जनमानसमा नराम्ररी असर परेको छ । विहान र साँझ पख बाक्लो हुस्सु र शितलहरले गर्दा लामो तथा सानो दुरीका यातायातका साधन संचालनमा समेत समस्या उत्पन्न भएको रौतहट बस व्यवसायी संघले जनाएको छ ।
अत्यावश्यक काम बाहेकका अन्य मानिसहरु घरबाट बाहिर निस्कने कार्य अहिले बन्द गरेको छ । दिनभरी आगो, न्यानो कपडा र सिरक डस्ना ओढेर बस्ने गरेको हुँदा रौतहट सदरमुकाम गौर सहितको ग्रामिण भेगमा मानिसहरुको चहलपहलमा निकै कमी आएको छ । मुटु काम्ने चिसोबाट विद्यालयमा पढ्ने बालबालिकाहरुलाई मानविय क्षति हुन नदिन गौर, वृन्दावन, राजदेवी, सहितका अधिकाँश पालिकाहरुले अगामी तिन÷चार दिनको लागि सामुदायिक विद्यालयहरु बन्द गरेका छन् । अत्याधिक चिसोबाट विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने र काम्ने समस्या देखा परेका कारण निजी विद्यालयको संगठन प्याबसनले गौरमा सबै निजी विद्यालयहरुमा विदा दिन सूचना जारी गरेको प्याबसन गौर नगर कमिटीका अध्यक्ष मुन्ना पटेलले बताए ।
चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरुमा विभिन्न रोगको सक्रमण समेत देखिन थालेको छ । चिसोले दम, स्वासप्रस्वास, उच्च रक्तचाप, निमोनिया, कोल्ड ज्वरो, मुटु तथा पुराना रोगिहरु झन जोखिमपूर्ण अवस्थामा पुगेको चन्द्रपुर अस्पताल प्रालीका प्रमुख तथा चिकित्सक डा. सुवास चौधरीले बताए ।
रौतहटको केही स्थानीय तह बाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न सार्वजनिक स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी किरण थापाले गरिव, असहाय, निमुखा वर्गलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिने अभियान निरन्तर रुपमा चलिरहेको स्पष्ट पारे ।
डोम, मुसहर, ढाँगर, चमार, दुसाढ सहितका अति विपन्न समुदायको पहिचान प्रहरी मार्फत गराएर जिल्ला विपद व्यवस्थापन समितिबाट कम्बल, सिरक, डस्ना खरिद गरेर प्रभावित बस्तीहरुमा वितरण कार्यलाई तिव्र बनाउनुको साथै मातहतका पालिकाहरुले पनि विना भेदभाव चिसो पिडितलाइ न्यानो कपडा वितरण गर्न तथा विभिन्न गैर सरकारी संघसंस्थाहरुलाई समेत यस अभियानमा सहयोग पुर्याउन प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गरे ।