सिमरा // बाराको गढीमाई मन्दिरमा जारी मेलामा दर्शनार्थीहरुको चहलपहल बढेको छ ।
गत मंसिर एक गतेबाट सुरु भएको एक महिने मेलामा अहिले दैनिक करिब एक लाख दर्शनार्थीहरु आउनेगरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए ।
चौधरीका अनुसार एक सातायता दर्शनार्थीहरुको चहलपहल दिनहुँ बाक्लो हुँदै गएको छ । मंसिर १७ र १८ गते बलिको साईत भएकाले उक्त समयमा यो संख्या झनै बढ्ने उनले बताए ।
यता मेला मुल ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले मेलामा आउने दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गर्दे ब्यवस्थापन तिब्र पारिएको बनाएका छन् । मेला अवधिभर करिब एक करोडको हाराहारीमा दर्शनार्थीहरुले मन्दिर दर्शन गर्ने अपक्षा गरिएको भन्दै उनले सोही संख्यालाई मध्यनजर गर्दै ब्यवस्थापन कार्य गरिएको बताएका हुन् ।
७२ सदस्यीय मेला ब्यवस्थापन मुल समिती र सोही मातहत रहनेगरी बिभिन्न शिर्षकमा उपसमिती निर्माण गरि ब्यवस्थापन जिम्मा लगाईएको कुशवाहाले बताए । ‘मुल समिती मातहतका १६ वटा अन्य उपसमितीहरु छन्, बिभिन्न शिर्षकमा बनाईएका उपसमितीले शिर्षकअनुसारको ब्यवस्थापन जिम्मेवार िसम्हालिरहेका छन् ।’ उनले भने ।
हाट बजार ब्यवस्थापन उपसमिती, मनोरञ्जन उपसमिती, बिद्युत, बाटोघाटो लगायत शिर्षकहरुमा उपसमिती गठन गरि काम भैरहेको सचिव कुशवाहाले बताए । खानेपानी, शौचालय, बिद्युत, बासस्थान, चिसो मोसममा दर्शनार्थीलाई आगो ताप्ने दाउरा, लगायत गरि बिगतका तुलनामा यस बर्षको मेला निकै ब्यवस्थित भएको उनको दाबी छ ।
यस्तो छ शुरक्षा रणनिती
एक करोड दर्शनार्थीहरुको भिड ब्यवस्थापन र उनिहरुको शुरक्षा प्रशासनका निम्ति निकै चुनौतीपूर्ण रहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले बताए । सोही बमोझिम प्रशासनले शुरक्षा रणनिती तय गरेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले बिशेषगरी बलिका समयमा बढी भिडभाड हुनेहुँदा उक्त समयका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भैरहेको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परेको खण्डमा नेपाली सेनासँग समेत समन्वय गरेर अघी बढीने पोख्रेलले बताए ।
त्यसैगरी बिभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको समेत उनले बताए । पोखे्रलका अनुसार यसपालि मेलाको सुरक्षा ड्रोनमार्फत पनि गरिने छ । प्रहरी सहायता कक्ष, दुईवटा एयर एम्बुलेन्स र आठवटा स्थलगत एम्बुलेन्स व्यवस्था गरिएको भन्दै उनले अकस्मिक अवस्थाका लागि हेलिप्याड समेत निर्माण गरिएको बताए ।
केन्द्र र प्रदेशबाट उपेक्षा
मेला मुल ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले सरकारबाट बाट मन्दिर उपेक्षित भएको गुनासो गरेका छन् । धार्मिक पर्यटनको महत्वपूर्ण मध्यम बन्ने यो मेलालाई अझै ब्यवस्थित गर्नुपर्ने भन्दै कुशवाहाले त्यसका लागि केन्द्र र प्रदेश सरकारको ध्यान जान जरुरी रहेको बताए ।
मनोरञ्जन र ब्यवस्थापनका क्रममा लगाईएका बिभिन्न ठेक्काबाट आएको झन्डै एक करोड रुपयाँ र महागढीमाई नगरपालिकाले छुट्टयाएको एक करोड गरि झण्डै दुई करोड रुपयाँबाट मेलाको तयारी भइरहेको भन्दै उनले भने, ‘यती ठुलो मेला ब्यवस्थापनमा दुई करोड रकमले पुग्दैन । केन्द्र र प्रदेशले पनि सहयोग गर्न आवश्यक छ ।’
पाँच पाँच बर्षमा लाग्ने मेलामा आउने दर्शनार्थीहरुको भिड ब्यवस्थापन निकै चुनौतीपूर्ण र खर्चिलो समेत हुने भन्दै उनले त्यसका लागि उपल्लो निकायबाट कुनै आर्थिक सहयोग प्राप्त नहुनु दुःखद् भएको बताए ।
नेपालको महत्वपूर्ण पर्यटकीय गन्तब्यका रुपमा सुचिकृत बिश्वप्रशिद्ध गढीमाईमा लाग्ने यस ऐतिहासिक मेलालाई संघ र प्रदेश सरकारले उपेक्षा गरेको कुशवाहाको गुनासो छ ।