रौतहट। पर्यटन विकास कार्यालय रौतहटको सक्रिय पहलमा शिवनगरस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र शिवनगर महादेव मन्दिर र नदीमान तालको सौन्दर्य अभिवृद्धिसँगै यस क्षेत्रले नयाँ परिचय पाउन थालेको छ। ताल परिसरमा कोरिएका आकर्षक मिथिला भित्तेचित्र, व्यवस्थित संरचना र मनमोहक वातावरणले स्थानीयसँगै बाहिरबाट आउने पर्यटकको समेत ध्यान आकर्षित गर्न थालेको छ।
पर्यटन विकास कार्यालय रौतहटका कार्यालय प्रमुख बबिता जैसवालको नेतृत्वमा प्रदेश सरकारको बजेटमार्फत सञ्चालन गरिएका योजनाले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको स्थानीयवासी बताउँछन्।
स्थानीयका अनुसार पहिले सामान्य अवस्थामा रहेको नदीमान ताल र शिवनगर मन्दिर परिसर अहिले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। मिथिला कलाको जीवन्त प्रस्तुति, सफा वातावरण र पूर्वाधार निर्माणले यस क्षेत्रको सौन्दर्यमा नयाँ आयाम थपेको उनीहरूको भनाइ छ।
कार्यालय प्रमुख बबिता जैसवालले पर्यटन पूर्वाधार निर्माणसँगै स्थानीय कला, संस्कृति र धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै योजना कार्यान्वयन गरिरहेको बताइन्। उनका अनुसार पर्यटन विकासको प्रत्यक्ष लाभ स्थानीय समुदायसम्म पुग्ने गरी योजनाहरू सञ्चालन गरिएको छ।
स्थानीयवासीले प्रदेश सरकार र पर्यटन विकास कार्यालय रौतहटको पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता योजनाले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय पहिचानको संरक्षण र आर्थिक गतिविधि विस्तारमा सकारात्मक टेवा पुगेको बताएका छन्। उनीहरूले शिवनगर मन्दिर र नदीमान ताललाई रौतहटकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।
Home प्रदेश समाचार प्रदेश न. २ पर्यटन विकास कार्यालयको पहलमा शिवनगर मन्दिर र नदीमान तालको मुहार फेरिँदै









