रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १० औं हिउँदे अधिवेशन (नगर सभा) भव्य रूपमा सम्पन्न भएको छ। सभामा नगर कार्यपालिकाले स्रोतान्तरसहित गरेका विभिन्न निर्णयहरू प्रस्तुत गर्दै नगर प्रमुख श्रीमती कौशल्या देवीले अधिवेशनको नेतृत्व गरिन्।
अधिवेशनमा चालू आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रमको प्रगति समीक्षा, संशोधन, र कार्यक्रमको समीक्षा गरियो। साथै, ऐन र कार्यविधि पारित गरिनुको साथै नगरपालिकाले सम्पन्न गरेका विकासका कार्यहरू, बजेट खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमहरूको उपलब्धि, नागरिक गुनासा र समस्या समाधानका विषयमा गहन छलफल गरिएको थियो।
नगर प्रमुख कौशल्या देवीले नगरपालिकाको कार्यसम्पादनको प्रगतिबारे जानकारी गराउँदै, हिउँदे अधिवेशनले नगरवासीका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
नगर सभामा नगरवासी, सरोकारवालाहरू, र जनप्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रह्यो। अधिवेशनले समृद्ध र उत्तरदायी स्थानीय शासनको दिशामा थप मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।