रौतहटसहित मधेशका जिल्लामा अत्यधिक गर्मी, विद्यालय बन्द र जनजीवन प्रभावित

182

रौतहट, जेठ २८ — मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर परेको छ।

गर्मीको प्रकोप बढेपछि रौतहटका विभिन्न स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका छन्। फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवका अनुसार, अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्म नगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको हो।

त्यस्तै, गौर नगरपालिकाले विद्यालय बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ भने इशनाथ नगरपालिकाले आगामी दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

बढ्दो गर्मीसँगै तातो हावा चल्न थालेपछि बिहान र साँझका समयसमेत बजारमा सर्वसाधारणको चहलपहल घटेको छ। दिउँसोको समयमा बजार लगभग सुनसान हुने गरेको स्थानीयवासीहरू बताउँछन्।

गर्मीका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण लु लाग्ने, ज्वरो, झाडा–पखाला, आँखा पाक्ने, घमौरा, जनडीस, खटिरा जस्ता समस्या देखिन थालेका छन्।

स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन, निस्कनै परेमा शरीर छोप्ने लुगा तथा छाता प्रयोग गर्न सुझाव दिएका छन्। साथै, ताजा र सफा खाना मात्र सेवन गर्न, प्रशस्त पानी पिउन र सफा तथा चिसो वातावरणमा बस्न आग्रह गरिएको छ।