रौतहट – लागू औषध तस्करीमा संलग्न एक युवकलाई रौतहट प्रहरीले हातहतियार र ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले जिल्ला ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुल नजिकै एम्बुस गर्दा उक्त युवक पक्राउ परेका हुन्।
पक्राउ पर्ने व्यक्ति गौर नगरपालिका वडा नम्बर ४, टिकुलिया बस्ने २१ वर्षीय सावन गिरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा चार जना व्यक्तिहरू प्लास्टिकको बोरा बोकी झोलुङ्गे पुलको पश्चिमपट्टि रहेको केरावारी हुँदै भारततर्फ जाँदै थिए। उनीहरूको साथमा टर्च बाल्दै अन्य केही व्यक्ति अगाडि अगाडि हिँडिरहेका थिए। प्रहरी टोली देखेपछि उनीहरू बोरा छोडी अँध्यारोको फाइदा उठाउँदै भाग्न थालेका थिए।
प्रहरी टोलीले ती मध्ये सावन गिरीलाई लखेटेर नियन्त्रणमा लिन सफल भएको हो। भाग्ने क्रममा उनी भुईंमा लडेका थिए र उठेर पुनः भाग्ने क्रममा उनले बोकेको हतियार फाल्दै भाग्न खोजे पनि नियन्त्रणमा लिइएको थियो। गिरीको शरीर खानतलासी गर्दा उनको हाफ पाइन्टको खल्टीमा 8MM KF लेखिएको तीन राउण्ड गोली र एक थान Realme 12x 5G मोबाइल फेला परेको छ। घटनास्थल वरिपरि खोजतलास गर्दा भुईंमा फालिएको अवस्थामा एक थान 8MM कटुवा पेस्तोल लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, घटनास्थलबाट करिब ५० मिटरको दुरीमा फेला परेका चार वटा बोराको भित्र साना ११ वटा पोका खोल्दा जम्मा १०९ किलोग्राम गाँजाजस्तो देखिने लागू औषध बरामद गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले उक्त गाँजा, हतियार र अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया अनुसार बरामद गरी सावन गिरीलाई पक्राउ गरी लागू औषध (गाँजा) तथा हातहतियार खरखजाना सम्बन्धी कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरू भने हालसम्म फरार रहेका र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी निरीक्षक तथा सह–प्रवक्ता उमाशंकर प्रसादले जानकारी दिएका छन्। उनले अवैध लागू औषध तथा हातहतियार तस्करीमा संलग्न गिरोहमाथि व्यापक अनुसन्धान अघि बढाइएको पनि जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले सीमावर्ती क्षेत्रमा लागू औषध र अन्य गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विशेष निगरानी र अप्रेसनहरु जारी राखेको जनाएको छ ।