नेपाल नेत्र ज्योति संघको ४७ औं स्थापना दिवसको अवसरमा गौरमा भव्य कार्यक्रम सम्पन्न, दुई जना उत्कृष्ट कर्मचारी सम्मानित

126
  • रौतहट — “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने मूल नाराका साथ नेपाल नेत्र ज्योति संघले आफ्नो ४७ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा बुधबार बिहान गौर नगरमा प्रभातफेरी तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको मूल्यांकन समितिले छनोट गरेका दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने र नेत्र अधिकृत विनिता केसरी रहेका छन्। संघका सभापति विजय सिंहले उनीहरूलाई सम्मानपत्र तथा कदर चिन्ह प्रदान गरी सम्मान गरेका हुन्।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघका सभापति विजय सिंहले उत्कृष्ट कार्यसम्पादनमार्फत अस्पतालको सेवा स्तर अभिवृद्धिमा योगदान पुर्याएको भन्दै दुबै कर्मचारीको प्रशंसा गरे। उनले नेत्र स्वास्थ्य सेवामा समर्पित भई काम गर्ने कर्मचारीहरूलाई हौसला दिन यस्ता सम्मान कार्यक्रम महत्त्वपूर्ण हुने बताए। सिंहले नेत्र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन कर्मचारीहरूको समर्पण र मेहनत प्रशंसनीय रहेको उल्लेख गरे।

वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेले सम्मान ग्रहण गर्दै नेत्र स्वास्थ्य सेवामा अझ प्रभावकारी सेवा प्रवाह गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले अस्पतालमा आर्थिक व्यवस्थापन र पारदर्शितामा सुधार ल्याउन आफूले पुर्याएको योगदानलाई मूल्यांकन गरी सम्मान दिएकोमा संघप्रति आभार व्यक्त गरे।

यस्तै, नेत्र अधिकृत विनिता केसरीले नेत्र सेवामा जनचेतना अभिवृद्धि गर्नका लागि आफूले खेलेको भूमिकालाई सम्मान गर्नु हर्षको विषय भएको बताइन्। उनले भविष्यमा अझ समर्पित भई सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाइन्।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका शाखा सचिव बच्चा यादव, पूर्व अध्यक्ष दुर्गा राय यादव, समाजसेवी रेबन्त झा, अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, चिकित्सकहरू, प्राविधिक कर्मचारीहरू, सञ्चारकर्मीहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सचिव बच्चा यादवले नेत्र स्वास्थ्य सेवामा स्थानीय समुदायलाई समेट्ने गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले नेपाल नेत्र ज्योति संघले देशभर नेत्र स्वास्थ्य सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।

नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालले स्थानीय समुदायमा निःशुल्क आँखा परीक्षण, मोतिबिन्दु शल्यक्रिया, दृष्टि सुधार कार्यक्रम तथा अन्य नेत्र स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ। संघका अनुसार स्थानीय समुदायमा नेत्र स्वास्थ्य सेवा पुर्याउन आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिनेछ।

४७ औं स्थापना दिवसको अवसरमा आयोजित यो सम्मान कार्यक्रमले नेत्र स्वास्थ्य सेवामा समर्पित कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्नका साथै सेवा प्रवाहमा गुणस्तर सुधार गर्ने विश्वास लिइएको छ।