रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सार्वजनिक सडकमा कुटपिट गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
मिति २०८१ साल माघ ४ गते राति करिब १०:१५ बजे, चन्द्रपुर–५ स्थित अरुण आयल स्टोर अगाडि सडकमा माधवनारायण नगरपालिका–१, दिपही टोलका ३७ वर्षीय हेमचन्द्र राय यादवलाई कुटपिट गरी मोबाइल चोरी गरिएको थियो।
घटनापछि फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले अनुसन्धान गरी पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा चन्द्रपुर–४, पैनी टोलका १९ वर्षीय किसन साह र कास्की पोखरा–८ घर भई हाल चन्द्रपुर–४ मा बसोबास गर्दै आएकी १९ वर्षीया काली मनिषा भनिने सोनम साह कलवार रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको मोबाइल बरामद गरेको छ। दुवैलाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।