मधेशी आयोगद्वारा NPL खेलमा भेदभावको घटनाको विरोध

69

रौतहट । मिति २०८१ मंसिर ४ गते सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को क्वालिफायर 2 खेलमा (जनकपुर बोल्ट्स बनाम कर्नाली याक्स) जनकपुर बोल्ट्सका खेलाडीहरूमाथि भएको साम्प्रदायिक, रंगभेदी र अभद्र व्यवहारको विषयमा मधेशी आयोगले कडा आपत्ति जनाएको छ। आयोगले दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायलाई अपील गरेको छ।

आयोगले प्रेस विज्ञप्तिमार्फत उक्त घटनालाई संविधान, ऐन, र कानून विपरीत भन्दै तीव्र भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “खेलमा देखिएको यस्तो अराजक र विभेदकारी सोचले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ र मुलुक निर्माणमा गम्भीर समस्या उत्पन्न हुन सक्छ।”

जनकपुरका खेलाडीहरूलाई अपमानजनक नारा लगाउनु र भेदभावपूर्ण व्यवहार प्रदर्शन गर्नु निन्दनीय र दण्डनीय कार्य भएको बताउँदै आयोगले सम्बद्ध निकायलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको छ।

यस घटनालाई लिएर आयोगले गृह प्रशासनमा सिफारिस समेत गरेको छ र दोषीमाथि छिटो कारबाही गर्न जोड दिएको छ। साथै, सबै पक्षलाई संयमित हुन आह्वान गरेको छ।

यस घटनापछि समाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ, जसमा धेरैले खेलमा यस प्रकारको विभेदपूर्ण व्यवहारलाई निन्दा गरेका छन्।