चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण

144

रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा समस्या ल्याएको मात्र होइन, विपन्न र गरिब वर्गका मानिसहरूको जीवन झन् कष्टकर बनाएको छ । यस चुनौतीपूर्ण परिस्थितिमा गरुडा नगरपालिका र राजपुर नगरपालिकाका नगर प्रमुखहरूले आफ्ना नगरवासीको सेवाका लागि विभिन्न राहत कार्यक्रम सञ्चालन गरेका छन ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले चिसोबाट प्रभावित नगरवासीलाई बचाउन सक्रिय भूमिका निर्वाह गर्दै राहत कार्यक्रम सञ्चालन गर्नुभएको छ । उहाँले चिसोको प्रभावलाई मध्यनजर गर्दै नगरका प्रत्येक वडामा सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि काठ वितरणको व्यवस्था गर्नुभएको छ । चौक, चौतारा, मठमन्दिर, प्रहरी चौकी र अन्य सार्वजनिक स्थलहरूमा चिसोबाट बच्न आगो बाल्ने व्यवस्था गरिएको छ ।
नगर प्रमुख जैसवालले आफ्नो नगरका गरिब, विपन्न, दलित समुदायका करिब १,२०० जनालाई कम्बल वितरण गर्नुभएको छ । उहाँको यो कार्यले नगरवासीलाई न्यानोपन प्रदान गरेर उनीहरूको कष्ट कम गर्न सहयोग पु¥याएको छ ।
गरुडा नगरपालिकाका बासिन्दाहरूले नगर प्रमुखको यो प्रयासलाई खुलेर प्रशंसा गरेका छन् । चिसोले गर्दा धेरै पालिकाहरूले कुनै सहयोग नगरेको अवस्थामा जैसवालले देखाउनु भएको सक्रियता अन्य तहका लागि प्रेरणाको स्रोत बनेको छ ।
राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजीक आलमले पनि चिसोको प्रकोपलाई ध्यानमा राख्दै राहत वितरण कार्यक्रम सञ्चालन गर्नुभएको छ । सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था गर्न उहाँले अग्रसरता लिनुभएको छ । नगर प्रमुख आलमले वडावडामा सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्नुभएको छ ।
राजपुर नगरपालिकाका वासिन्दाहरूले ठिक समयमा राहत उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुखप्रति धन्यवाद ज्ञापन गरेका छन् । प्रमुख आलमले क्रमशः सबै वडाहरूमा चिसोबाट बच्न आवश्यक सामग्री वितरण गरिने जानकारी दिनुभएको छ ।
रौतहट जिल्लाका यी दुई नगर प्रमुखहरूले देखाएको सक्रियता र सेवाभावले नगरवासीको जीवनमा सकारात्मक प्रभाव पारेको छ । चिसोको प्रकोपबाट पीडित भएका जनताका लागि काठ र कम्बलजस्ता राहत सामग्री वितरण गरिनु चुनौतीपूर्ण समयका लागि ठोस कदम हो ।
गरुडा र राजपुर नगरपालिकाका नगर प्रमुखहरूले देखाएको सक्रियता र राहत वितरणले जनताका लागि उदाहरणीय काम गरेको छ । यसले अन्य स्थानीय तहहरूलाई पनि आफ्नो जनताको सेवामा सक्रिय हुन प्रेरणा प्रदान गर्न सक्छ । यस्ता कार्यले मात्रै स्थानीय सरकारप्रति जनताको विश्वास र भरोसा बलियो बनाउन मद्दत गर्दछ ।