भन्सार छली गरी ल्याइएका सामान बरामद

63

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ४, बसपार्क चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ । प्रहरीका अनुसार, माघ १९ गते चेकजाँच टोलीले सवारी साधन र पैदल यात्रुहरूको जाँच गर्दा भन्सार छल्दै ल्याइएका करिब १ लाख ६० हजार ७ सय ९५ रुपैयाँ बराबरका सामान बरामद गरेका हुन् । बरामद सामानहरूमा चिनी, मैदा, सर्फ, तिल, घुपी, रिफाइन्ड तेल, बिस्कुट लगायतका सामग्री समावेश छन् ।
बरामद सामानलाई गौर भन्सार कार्यालयमा बुझाइएको र यस विषयमा थप कानूनी प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनले सीमावर्ती क्षेत्रबाट हुने भन्सार छलि तथा गैरकानुनी चोरी पैठारी रोक्न चेकजाँचलाई कडाइ गरिएको बताए । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिहरू रोक्न लगातार अनुगमन र कारबाही गरिरहेको छ ।