रौतहट : रौतहट गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । नगरपालिकाले नमुना माध्यमिक विद्यालयका शिक्षक शिवशंकर झालाई माध्यमिक विद्यालय झाझपुलमा सरुवा गरेको भन्दै झाको सरुवा रोक्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन गर्दा गर्दै उनीहरुले नगरपालिका कार्यालय र गाडीमाथि तोडफोड गर्न उत्रिएका थिए ।
विद्यार्थीहरूले ढुंगा प्रहार गरी नगरपालिका कार्यालयको अधिकांश कोठाको झ्यालको सिसा फुटाइदिएका छन् भने दुईवटा गाडी र दर्जनौं मोटरसाइकलमा समेत तोडफोड गरी क्षति पुर्याएका छन् । विद्यार्थीहरूले नगरपालिका कार्यालय अगाडि पाकिङ गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्याएका छन् ।
ढुंगा प्रहारबाट मेयर जयसवालले चढ्ने गाडीको सबै सिसा कामै नलाग्ने गरी फुटेको छ भने उक्त गाडीको अन्य भागमा समेत क्षति पुगेको छ । त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको गाडीमा समेत विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन् । ढुंगा प्रहारबाट सेवाग्राहीको १२ वटा गाडीमा क्षति पुगेको बताइएको छ । विद्यार्थीले गरेको ढुंगा प्रहारबाट एकजना नगर प्रहरी घाइते भएका छन् ।
घाइते भएका नगर प्रहरी हवल्दार रामनारायण साहको वीरगन्जमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । द्यार्थीहरूले गरेको ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी करिब १० लाख भन्दा बढीको क्षति भएको गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए । नमुना माध्यमिक विद्यालय गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा गरिएको शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर आन्दोलन गराएको नगर प्रमुख जयसवालको आरोप छ ।
नगरपालिकाले शिक्षक शिवशंकर झालाई अन्यत्र सरुवा गर्दा सरुवा भएको ठाउँमा जानुको सट्टा शिक्षक झा र प्रधानाध्यापक पटेलले उल्टै विद्यार्थीलाई उक्साएर सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरी उदण्डता देखाएको मेयर जयसवालले बताए । विद्यार्थीहरुलाई उचालेर आन्दोलन गराउने र नगरपालिका तथा सेवाग्राहीको दर्जनौं गाडीमा तोडफोड गराउने मुख्य योजनाकारहरुलाई कानुनी कारबाही गराउनेतर्फ लाग्ने मेयर जयसवालको तयारी छ । प्रधानाध्यापक प्रभु राउत पटेलले आफूहरुले विद्यार्थीलाई उचालेर आन्दोलन गराएको मेयर जयसवालको आरोप गलत रहेको बताएका छन् । आफूहरुले कुनै पनि विद्यार्थीलाई आन्दोलन गर्न नउक्साएको प्रधानाध्यापक पटेलको दाबी छ ।
शिक्षक झालाई सरुवा गर्दा विद्यार्थीहरु आफैं आक्रोशित भइ नगरपालिका कार्यालयमा तोडफोड गरेको उनले बताए । आफूहरुलाई बदनाम गराउन मेयर जयसवालले यस्तो झूठा आरोप लगाएको भन्दै प्रधानाध्यापक पटेलले मेयर जयसवालको आरोपलाई खण्डन गरेका छन् । चार महिना अघि नमुना माध्यमिक विद्यालय गरुडामा कार्यरत रहेका शिक्षक झालाई नगरपालिकाले नियमसंगत नै माध्यमिक विद्यालय महमदपुर झाझपुलमा सरुवा गरेको थियो । तर झाले पालिकाले गरेको सरूवालाई अटेरी गर्दै आएका थिए । सरुवा गरिएको ठाउँमा जान नमान्दा नगरपालिकाले शिक्षक झाको तलब भत्ता नै रोकिदिएको छ । शिक्षक झाको किन सरुवा गरिएको भन्दै नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले उनको सरुवा रद्द गर्नुपर्ने माग राख्दै नगरपालिका अगाडि बिहीबार उग्र प्रदर्शन गरेका थिए ।