रौतहटको पहिलो गौर नगरपालिकामा पूर्ण खोप घोषणा

467

रौतहट ।। गौर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिकामा बुधवार आयोजित एक समारोहका विच पूर्ण खोप घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादवले पूर्ण खोप घोषणाको अवसरमा गराइएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताको अध्यक्षतामा भएको घोषणा सभामा नगरउप प्रमुख किरणकुमार ठाकुर, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रेमचन्द्र झा, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष संजिव कुमार मल्लिक, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल, गौर अस्पताल प्रमुख कृष्णा साहलगायतका व्यक्तिहरुले गौर नपा पूर्ण खोप घोषणा भएकोमा बधाई तथा शुभकामना दिदै यस यस अभियानलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
पुर्ण खोप घोषणा गर्ने अभियानमा सहयोग गर्ने व्यक्तिका साथै संस्थालाई सम्मान गरियो । सो समारोहमा गौर नगरमा रहेका स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र वडा अध्यक्षका सहभागीता रहेको गौर नगरपालिका स्वास्थ्य शाखा सहायक प्रमुख दिनबन्धु यादवले जानकारी दिए ।