रौतहट — रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुख केही वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ । नगरप्रमुख अजयप्रकाश जैसवालले आफै धर्नामा बसेका जनप्रतिनिधिहरुसित वार्ता गरेपछि ताला खोलिएको हो ।
वडा नम्बर ४ का अध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख जैसवालले आफूहरुले राखेको माग सम्बोधन गरेपछि ताला खोलेको बताए । ‘धर्ना बसेकै स्थानमा आएर नगरप्रमुख जैसवालले माग सम्बोधन गर्छु भनेर आश्वासन दिनु भएको छ,’ उनले भने, ‘माग सम्बोधन भएन भने पुन: ताला लगाएर धर्नामा बस्छौं ।’
नगरप्रमुख जैसवालले सबै वडाको विद्युत् महसुल तिर्ने, आर्थिक वर्षको खर्च कार्यपालिकामा पेस गर्ने, डोरलगायत करारमा कार्यरत कर्मचारीको विवरण दिने लगायतका माग सम्बोधन गर्ने जनाएका छन् ।
उपप्रमुख रितादेवी यादवको नेतृत्वको जनप्रतिनिधिको टोलीले कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने, नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्ने बारे छलफल हुनुपर्नेलगायत विभिन्न ८ बुँदे माग राखी पुस २३ गते नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।









