भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

752
टस गर्दै भारत र नेपालका कप्तान ।
टस गर्दै भारत र नेपालका कप्तान ।

काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत  ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ । 

श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको नेपाल आज भारतलाई हराउने लक्ष्यमा छ । सेमिफाइनलमा स्थान विजित राख्न पनि नेपाललाई आज भारत पन्छाउने चुनौती छ । 

प्रतियोगिताको नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमानेपालसँगै पाकिस्तान ‘ए’, भारत  ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहने छैन । 

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

भारत  ‘ए’ विरुद्ध नेपाल–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख,, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलसन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।