रौतहट । रौतहट क्षेत्र नं. २ का संघीय सांसद किरण कुमार साहले आज अर्थमन्त्री विष्णु पौडेललाई सीमावर्ती क्षेत्रमा रहेका छोटी भन्सार नाकाहरू पुनः सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहा, वडा नं. ३ औरैया मनमोहनगेट (लतमरी), वडा नं. ४ महुलिया, परोहा नगरपालिका वडा नं. ९ रामपुर खाप, र बौधिमाई नगरपालिका वडा नं. ७ बंकुलमा रहेका छोटी भन्सार नाकाहरू बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ। सांसद साहले नेपाल-भारतको रोटी-बेटी सम्बन्धमा खटास उत्पन्न हुनुका साथै दैनिक उपभोग्य सामग्रीको अभाव र जनताको ओहोरदोहोरमा कठिनाइको समस्या उत्पन्न भएको बताउनुभयो।
ज्ञापनपत्र बुझ्नासाथ अर्थमन्त्री पौडेलले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत तत्काल समस्या समाधानका लागि निर्देशन दिनुभयो। साथै, गृह सचिव र राजस्व सचिवसँग समन्वय गरी नाकाहरू पुनः सञ्चालन गर्न पहल गर्न आग्रह गरिएको छ।
सांसद साहका अनुसार यो विषयलाई गृह मन्त्रालय र राजस्व विभागले उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। यसले नाकाहरू चाँडै पुनः सुचारु हुने आशा गरिएको छ।
स्थानीय जनता र सरोकारवालाले सांसद साहको यो कदमलाई प्रशंसा गर्दै सीमा क्षेत्रका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।