रौतहटको गरुडामा विश्व ध्यान दिवस मनाइयो

81

रौतहट । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको वडा नं. ४ स्थित श्रीराम सुगर चिनी मिलमा विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ। “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादवको प्रमुख आतिथ्यता रहेको थियो भने गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको विशेष उपस्थिति थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्ज्वलनबाट गरिएको थियो। कार्यक्रममा नगर प्रमुख जैसवालसहित अन्य सहभागीहरूले योग अभ्यास गर्दै “योग गरौं, निरोग बनौं” भन्ने सन्देश दिएका थिए।

कार्यक्रमले स्थानीय बासिन्दालाई ध्यान, योग, र आन्तरिक शान्तिको महत्वबारे जागरूक बनाउँदै स्वास्थ्य र सकारात्मक जीवनशैलीतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिएको थियो।

यस प्रकारको आयोजनाले मानसिक र शारीरिक स्वास्थ्य सुधारका साथै सामाजिक सद्भाव प्रवर्द्धन गर्न मद्दत गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।