परोहामा चुल्होसहितको ग्यास सिलिन्डर वितरण

41

रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त अभियान अन्तर्गत सोमवारदेखि ग्यास चुल्होसहित ग्यास सिलिन्डर वितरण सुरु गरेको छ । आठौँ नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाई ग्यास चुल्हो सेट वितरण गर्ने कार्यक्रम अन्तर्गत चुल्होसहितको सिलिन्डर वितरण गर्न लागिएको हो ।
परोहा नगरपालिका– ४ मा रहेको विद्यालयको प्रांगणमा सोमबार औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहितको सिलिन्डर वितरणको शुभारम्भ गरेका छन् । पहिलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाई चुल्होसहितको ग्यास सिलिन्डर वितरण गरिएको छ ।
एक हजार २ सय घर रहेको सो वडाका सोमबार ७ सय परिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए । ग्यास चुल्हो वितरण कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, निर्वाचित वडाध्यक्ष,ईन्जिनियर दिपेन्द्र यादब,नगरपालिकाको कर्मचारी, स्थानीय भलादमीहरुको सहभागिता रहेको थियो ।