गणपति डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक, ३ जनाले हामफालेर ज्यान जोगाउन सफल

264

रौतहट । काठमाडौंबाट गौर गइरहेको बागमती प्रदेश ०३ –००१ख २४९५ नम्बरको बसमा सवार ३१ जनामध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एक जना गरी तीन जना क्याबिनबाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाही नगरपालिकाका मेयर पे्रमलाल साह कानुले जानकारी दिए ।
बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ । आधिकारिक स्रोतका अनुसार काठमाडौंबाट गौरतर्फ जाने यात्रुहरूमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजीको नामले टिकट काटिएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शम्भु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरूको नाम पनि उल्लेख छैन ।
अहिले समाजिक संजालमा भाइरल भएको भिडियोमा हामफालेर ज्यान जोगाएका यात्रुले चार दिन अघि उपचार गराउन काठमाडौं गएका थिए, उपचार गराएर गणपति डिलक्सबाट घर फर्किदै गरेको अवस्थामा पहिरा आएर बस बगाउन थालेपछि क्याबिनको झ्यालबाट हामफालेर ज्यान जोगाए तर सामानहरु त्यसैमा छुट्यो उनले भनेको प्रष्ट रुपमा बुझिन्छ । उपचार गराएर गणपति डिलक्सबाट घर फर्किदै गरेका यात्रु हामफालेर ज्यान त जोगाएर तर संगै बसेका यात्रुलाई बचाउन सकिएनन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रु हामफालेर जीवन जोगाए । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसबाट नारायणगढ ल्याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको छ । वृन्दावनको सिसवा धमौरा, देवाही गोनाहीको करुनीया र मटिअर्वाको मानिस बाच्न सफल भएको भिडियोमा सुन्न सकिन्छ ।
ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ । ६ दिन अघि पेट दुखेको समस्या लिएर वृन्दावन नगरपालिकाको सिसवाधमौराको व्यक्ति काठमाडौं गएका थिए । घर फर्किने क्रममा यस्तो दुखद घटना भए जसमा बल्ल तल्ल ज्यान जोगियो उनले भने । आफू संगै अन्य एक जनालाई उद्धार समेत गरेको भनेको भिडियोमा सुन्न सकिन्छ ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौं तर्फ गईरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले बगाई त्रिशुलीमा वेपत्ता भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । घटनास्थलमा व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेर खोजीकार्य तथा पहिरोलाई पन्छयाउने कार्य जारी रहेको जानकारी दिए ।