रौतहटमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

121
रौतहट, २६ अषाढ । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ ।
इशनाथ नगरपालिकाको वडा नं. २ औरैयामा नगरपालिकाको कार्यालय अगाडीको आप बगैचामा १८ वर्षिय युवकको शव फेला परेको हो । मृतक युवक सोही पालिकाको वडा नं. ९ लवतनाका सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ ।
मियालाई धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले धारीलो हतियार प्रयोग गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको सूचना नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो । “एकै समुहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “घटनाको सम्बन्धमा हिजो राति देखिनै अनुसन्धान शुरु गरेका छौं ।”
प्रहरीले केही शंकास्पद व्यक्तिसँग सोधपुछ गरीरहेको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।