रौतहटमा अत्याधिक गर्मी

493

रौतहट–तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।
सदरमुकाम गौरको तापक्रम ४० डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान बिहानबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन् ।

गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ । अत्याधिक गर्मीले गर्दा सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ । जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको छ । अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरु घर बाहिर निस्कन छाडेका छन । तापक्रम ४० डिग्रीसम्म पुग्न थालेपछि अत्यावश्यक कामका लागी बाहेक अरु बेला स्थानीयहरु दिउँसो घर बाहिर निस्कन छाडेका छन्।

चर्को गर्मीका कारण दिउँसो सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको संख्या पातलिएको छ।
एक्कासी बढेको गर्मीका कारण सर्वसाधरणहरु बढि घाममा काम गर्नु, हिडडुल गर्नु, झोलपदार्थ जस्ता खानेकुरा नखानेलगायतका काम गर्न थालेपछि ‘हिट स्ट्रक’ हुने सम्भावना बढि देखिने गरेको जिल्ला अस्पताल गौरका मेसु मुरारी ठाकुरले रौतहट टाइम्सलाई बताए ।

गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामीहरु बढेको जिल्ला अस्पताल गौरले जनाएको छ । हिट स्ट्रक गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना बढेको बताए । गर्मीबाट बाँच्नका लागि झोलपदार्थ बढि खानु, घाममा ननिस्कनु, सितलमा बस्नु, थोरै खानुलगायतका घरेलु प्रविधि अपनाएमा जोगिन सक्ने जानकारी दिए ।