रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिँड्नुपर्ने भएको छ।
नेपाल-भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको रौतहटको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्।
पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत जान अहिले भारतीय सुरक्षाकर्मीले रोक लगाएको गौरका स्थानीयले बताए।
पछिल्लो समय भारतीय संचारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुँदै भारत प्रवेश गरेर विहार हुँदै उत्तरप्रदेशको नोएडा पुगेपछि रौतहटको सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र हेरेर मात्रै ओहोरदोहोर गर्न दिएका छन्।
पाकिस्तानी नागरिक सीमा हैदर मे १३ मा काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले उनको बारेमा गहन छानबिन गरिरहेका छन्।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका डिएसपी सूर्य तिमलसिनाले विभिन्न देशका नागरिक नेपालको बाटो हुँदै भारत जान थालेपछि सीमामा भारतीय सुरक्षाकर्मीले केही कडाइ गर्न थालेको जानकारी दिएका छन्।