भारत-पाकिस्तान द्वन्द्व चर्किएसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।
भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो । गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो । उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।
भारतको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।