काठमाडौँ — सांसद तथा आम जनता पार्टीका नेता प्रभु साहले देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताएका छन् । जसकारण आम युवाहरू उदाशीन बनेको र विदेश पलायन हुने क्रम रोक्न नसकिने भन्दै उनले चिन्ता व्यक्त गरे ।मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । ‘देशमा विकास किन भएन भनेर सोचिरहँदा आर्थिक समस्या पहिचान गर्न सक्नुपर्छ । अन्यथा टाउकोको दबाइ पेटमा लगाए जस्तै हुन्छ । नेपाली जनताले देशमा भविष्य देख्न छाडेका छन् । मजदुरहरू, युवाहरू विदेश पलायन भइरहेका छन् ।पढेलेखेका युवाहरू लाखौं रकम तिरेर विदेशको नागरिक बन्न चाहन्छन् । किन यस्तो अवस्था आयो ? युवालाई यो देश मेरो हो भन्ने महसुस किन भइरहेको छैन ?’ सांसद साहले सोधेका थिए ।
उनले स्थिरता र असल नेतृत्वको अभाव देखिएको भन्दै आम युवाहरूमा एकता भाव जागृत गराउन नसकिएको बताएका थिए ।
सांसद साहले भनेका छन्, ‘यो सरकार मेरो हो, यो राज्य मेरो हो भन्ने महसुस दलका आसेपासहरूलाई मात्रै भएको छ । आम जनतालाई त्यस्तो महसुस भएको छैन । मुठ्ठीभर मान्छेहरू मात्रै खुसी छन् । आम जनता दु:खी छन् । दलभित्र पनि सिन्डिकेट छ र मुठ्ठीभर मान्छेले लाभ लिइरहेका छन् । स्थिरता दिन सकिएको छैन । एकताभाव दिन सकिएको छैन ।’
यस क्रममा सांसद साहले आर्थिक समस्याको समाधानसँगै समस्याको कारण पनि पहिचान गरिनुपर्ने स्मरण गराएका थिए ।