स्वतन्त्र सांसद् अमरेश सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी

520

काठमाडौँ, बैशाख २५ गते । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। अमरेशको सम्पत्ति छानबिन गर्न माग गर्दै सर्लाहीका विकास ठाकुरले अख्तियारमा उजुरी दिएका हुन्।

ठाकुर नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य हुन्। उजुरीमा ठाकुरले पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सर्लाहीबाट आर्थिक चलखेलले पटक÷पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ।

‘२०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ। निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्त्वपूर्ण विषय हो’, उजुरीमा भनिएको छ।

यता, उनै सांसद् अमरेशले आजको प्रतिनिधिसभा बैठकमा आफूले लगाएको लुगा फुकालेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न भनी समय माग्दा नपाएको भन्दै उनले सभामुख देवराज घिमिरेसमक्ष आफूले लगाएको सर्ट र ग‍न्जी खोलेर विरोध गरेका हुन्।