मकवानपुरका ७५५ लालपूर्जाबिहीनले घर बनाउन अनुदान पाउने

1130



हेटौंडा — आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि अनुदान रकम दिने निर्णय गरेको हो ।

समितिका संयोजक तथा सांसद विरोध खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले लालपुर्जा नभएका ७ सय ५५ परिवारलाई पुर्ननिर्माण प्राधिकरणको सहयोगमा घर निर्माण गरिदिने निर्णय गरेको हो । मकवानपुरको बकैया, मनहरी, भीमफेदी, वाग्मतीलगायतका गाउँपालिकाका भूकम्पपीडितहरूसँग सम्झौता गरेर अनुदान रकम लिनका लागि सहज भएको छ ।
०७२ वैशाख १२ को भूकम्पका कारण घर ढले पनि जग्गाधनी लालपुर्जा नभएका कारण घर निर्माणका लागि पाउने ३ लाख रुपैयाँ पाउन सकेका थिएनन् । बैठकले आंशिक क्षति भएका घर प्रबलीकरण गर्नुपर्ने अवस्थाका ३ सय २७ परिवारलाई पनि सहज भएको छ । घरको लालपुर्जा नभएकै कारण प्रबलीकरणमा पर्न समस्या भएका परिवारलाई पनि एक लाख रुपैयाँ अनुदान रकम पाउने भएका हुन् ।

हालसम्म मकवानपुरमा तीन पटक गरेर पहिचान भएका १ हजार ८ सय २४ भूमिहीन लाभग्राहीलाई अनुदान सम्झौता गर्ने निर्णय भएको छ । जसमा पूर्ण लाभग्राहीको संख्या १ हजार ३ सय ८७ र प्रबलीकरण लाभग्राही ४ सय ३७ रहेका छन् । लाभग्राहीको सूचीमा परेका भूमिहीन भूकम्पपीडितहरूले स्थानान्तरण हुन नचाहेमा परम्परादेखि भोग गर्दै आएको साविककै जग्गामा निजी आवास पुनर्निर्माण गर्न दिने मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरूलाई पहिचान गरेर सोही स्थानमा घर बनाउन दिने निर्णय गरिएको हो ।

जिल्लामा भूकम्पबाट विस्थापित, भूमिहीन लाभग्राहीको बसोबास र स्थानान्तरणमा सहजीकरण गरिरहेको दिगो समाधान परियोजनाको सहजीकरणमा लाभग्राहीको लगत संकलन र आवश्यक कागजातहरू (सार्वजनीक मुचुल्काको आधारमा स्थानीय तहबाट प्राप्त सिफारिस) को आधारमा सोही स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृति दिने निर्णय भएको हो ।

यसअघि पनि परियोजनाकै सहजीकरणमा प्राप्त ७ सय २४ लाभग्राहीलाई घर पुनर्निर्माण गर्न दिने निर्णय भएको थियो । दिगो समाधान परियोजनाबाट संकलन गरी पेस भएका कागजातका आधारमा समितिबाट भूमिहीन लाभग्राही र प्रबलीकरणका लाभग्राहीहरूलाई साविककै स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।

मकवानपुरको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी थाहा नगरपालिकाका भूकम्पपीडितहरूले आवासीय भवन निर्माण गरिसकेका छन् । २ हजार ९ सय ९५ वटा घर बनिसकेका छन् । हेटौंडा उपमहानगरपालिकामा २ हजार १ सय, वाग्मती गापामा ६ सय ५०, बकैयामा ५ सय ५ घर पुनर्निर्माण गरिएको छ भने मकवानपुरगढीमा ७ सय, मनहरी गाउँपालिकामा १ हजार ४ सय ८० वटा निजी भवन पुनर्निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनियर पाठकले बताए ।

यसैगरी भीमफेदी गाउँपालिकामा १ हजार ४ सय ८०, राक्सिराङमा ८ सय, कैलाशमा एक हजार १ सय र इन्द्रसरोवरमा ९ सय ९८ घर पुनर्निर्माण भइसकेका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।