उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका ७ जना पक्राउ

637

काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।
टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो ।
थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिबर्तन गरि बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अबस्थामा यामाहाको R15 मोटरसाईकल सहित बुढा पक्राउ परेका हुन ।
किर्तिपुर एरियाबाट काठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहित रौतहट गुजरा न.पा. २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाईकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाईकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरि किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाईकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखीएको भट्टराईको भनाई छ ।
गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाईकलहरु किनवेच गर्ने मुख्य भुमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।
बरामद गरेका ७ थान मोटरसाइकल मध्य एउटा यामाहाको R15 र अन्य ६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरि ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यहि असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाईकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।
पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखाले जनाएको छ ।