रौतहटमा आजदेखि लकडाउनमा थप कडाई

1868

रौतहट । रौतहटमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा लकडाउनमा थप कडाई गरिएको छ । अन्य दिनको तुलनामा मंगलवार रौतहटमा लकडाउनको पूर्ण पालना समेत भएको देखिएको छ । जिल्ला सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुरमा लकडाउनको पूर्ण पालना भए पनि ग्रामिण भेगमा भने आंशिक प्रभाव परेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण मानवबाट मानवमा सर्ने भएकाले आवागमन पूर्ण रुपमा बन्द गराउन फतुवा बिजयपुर नगरपालिका अग्रसरता देखाएको छ । रौतहटमै पहिलो पटक उक्त नगरपालिकाले एक गाँउबाट अर्को गाउँमा आवागमन रोक्ने निर्णय गरेको छ । नगरप्रमुख गोपाल यादवले ग्रामीण भेगमा आवागमन नरोकिएकाले मंगलवार वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहितको बैठकले प्रत्येक गाँउको बाटो बन्द गर्ने निर्णय गरेको बताए । नगरक्षेत्र अन्तर्गतको प्रत्येक गाउँको बाटोमा बार लगाएर आवागमन अवरुद्ध गरिएको तर प्रहरी, एम्बुलेन्स, प्रेसको गाडी र दमकललाई निषेध नगरिएको मेयर यादवले बताए । यता, कोरोना संक्रमणको आशंकामा क्वारेन्टाईनमा बस्ने बिरामीको संख्या भने घटेको छ । मंगलवार बेलुकीसम्म जिल्ला सदरमुकाम गौर, कटहरिया, चन्द्रपुर लगायत २७ स्थानमा रहेका क्वारेन्टाईनमा उपचार गराइरहेका शंकास्पद बिरामीको संख्या १ सय ६९ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । लकडाउन सुुरु भएयता रौतहटका विभिन्न क्वारेन्टाइनमा लगातार दुुई हप्ता बसेर चेकजाँचमा नेगेटिभ नतिजा देखिएका १ सय ३८ जना निको भएर घर फर्किसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सोमबार जिल्लाको ईशनाथ नगरपालिकाका–१९ का एक  युुवकमा कोरोना संक्रमण पाइएपछि उनलाई थप उपचारका लागी वीरगञ्जस्थित नारायणी अञ्चल अस्पताल पठाइएको छ । संक्रमितको परिवारका १४ जना सदस्यलाई गएराती  र्यापिड जाँच गरिएकोमा सबैजनाको परिणाम नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।रातोपाटी