हेटौंडाको अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया, बिरामी भन्छन्ः राम्रो उपचार पाएँ

1286

हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ ।

क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५ वर्षीय ईन्द्रबहादुर रुम्बाको अर्थोपेडिक अस्पतालले शल्यक्रिया मार्फत सफल उपचार गरेकोे हो । अर्थोपेडिक अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर वसन्तमान श्रेष्ठको टोलीले ढाडको जटिल शल्यक्रिया गरी स्टिल हालेपछि रुम्बाको कम्मरमनिका सबै भाग चल्न थालेका छन् । गत वैशाख ६ गते अस्पतालले रुम्बाको शल्यक्रिया गरिएकोमा अहिले उनी खुट्टा चलाउन सक्ने अवस्थामा पुगेका छन् ।

‘उहाँको डि–११, डि १२ फ्याक्चर भएको थियो, हामीले हेटौंडामा नै पहिलोपटक यस्तो फ्याक्चरको जटिल किसिमको अपरेशन गरेका छौं, यस्तो किसिमको अपरेशन गरिएको थिएन, यदि अपरेशन गर्न नसकिएको भए उनी सदाको लागि प्यारालाइसिस हुने थिए ।’ अस्पतालका डा. वसन्तमान श्रेष्ठले भने–‘अपरेशनपछि उहाँको खुट्टा चल्न सक्ने भएको छ, अब केही समय फिजियोथेरापी गर्नुपर्ने हुन्छ, केही महिना आराम गरेपछि हिँड्न सक्ने हुन्छन् ।’ आर्थिक अवस्था कमजोर भएका कारण विशेष छुट गरी उनको उपचार गरिएको डा. श्रेष्ठले बताए ।

अप्रेशनपछि आफ्नो चल्न छाडेको खुट्टा पनि चल्न थालेपछि रुम्बाले खुसी व्यक्त गरे । ‘मलाई पहिलादेखि नै ढाड दुख्ने गरेको थियो, एकवर्षयता धेरै नै दुख्न थालेपछि काठमाडौंमा १०–१५ दिन थेरापी गराएँ, थेरापी गर्न थालेपछि त झन् मेरो खुट्टा नै चल्न छाड्यो ।’ रुम्बाले भने– ‘काठमाडौंमा मात्र मैले दुईलाख रुपैयाँ सक्याएँ, यहाँ आएर अप्रेशन गर्दा अर्को दुईलाख रुपैयाँ जति त सक्कियो तर, मैले राम्रो उपचार पाएँ ।’

ढाडको समस्या लिएर पहिलोपटक अर्थोपेडिकमा पुगेका रुम्बालाई एमआरआईको लागि काठमाडौं पठाइएको थियो तर, उनले एमआरआई गरेपछि काठमाडौंकै एक अस्पतालमा थेरापी सुरु गरेका थिए । थेरापीबाट झनै ठूलो समस्या देखिएपछि रुम्बा पुनः अर्थोपेडिक अस्पताल आएका थिए । अबको केहीदिनमा रुम्बालाई घर पठाउने तयारी भएको अर्थोपेडिक अस्पतालले जनाएको छ । आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।