लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा जोड

24

रौतहट। रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको अवस्था तथा सम्भावित बाढी जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा स्थलगत निरीक्षण गरिएको छ। मनसुन सक्रिय भएसँगै हरेक वर्ष बाढी र कटानको जोखिम बढ्दै जाने अवस्थालाई ध्यानमा राख्दै सरोकारवाला निकायहरूले बाँधको अवस्था, सम्भावित जोखिम क्षेत्र तथा आवश्यक पूर्वतयारीबारे स्थलगत अध्ययन गरेका हुन्। अनुगमनका क्रममा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न तथा जोखिम बढे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।

अनुगमन टोलीमा रौतहट निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, सिँचाइ कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

टोलीले बाँधको वर्तमान अवस्था, सम्भावित कटान हुने क्षेत्र तथा बाढीबाट हुन सक्ने क्षतिको स्थलगत अवलोकन गर्दै जोखिम न्यूनीकरणका प्रभावकारी उपायबारे छलफल गरेको थियो। सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा विपद् पूर्वतयारीका कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको जनाइएको छ। रौतहटको पूर्वी क्षेत्रमा बागमती नदी र पश्चिमी क्षेत्रमा लालबकैया नदी वर्षायाममा उग्र बन्दै आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा कटान र डुबानको समस्या दोहोरिने गरेको छ। यसै सन्दर्भमा मनसुनको संवेदनशील समयमा गरिएको संयुक्त अनुगमनलाई विपद् जोखिम न्यूनीकरण र जनधनको सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। यद्यपि स्थानीयवासीले दीर्घकालीन समाधानका लागि तटबन्ध सुदृढीकरण, नदी नियन्त्रण तथा संरक्षणका योजनालाई प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।