रौतहट, जेठ २९ — रौतहटको कटहरिया नगरपालिका–१ स्थित माध्यमिक विद्यालय भषेडवाबाट कम्प्युटर चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। चोरीको घटना शनिबार राति भएको भए पनि उनीहरूलाई बुधबार सार्वजनिक गरिएको हो।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार पक्राउ पर्नेहरूमा कटहरिया–१ भषेडवाका मुकेश दास, राधेश्याम दास र राजु दास रहेका छन्। तीनै जना एकै गाउँका हुन्। प्रहरीका अनुसार शनिबार राति ती युवकहरूले विद्यालय भवनको दोस्रो तलामा रहेको लेखा शाखाको गेटको ताल्चा फोडी एक थान कम्प्युटर चोरी गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरीले अनुसन्धान प्रारम्भ गरेको थियो।
चोरीको भोलिपल्ट प्रहरी टोलीले राजु दासको घरमा खानतलासी गर्दा हालै चोरी भएको कम्प्युटरसहित यसअघि विद्यालयबाट हराएका अन्य सामानहरू समेत बरामद गरेको थियो। ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार तीनैजनाविरुद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।
विद्यालयका प्रधानाध्यापक राममंगल यादवले यसअघि पनि विद्यालयमा दुई पटक चोरी भइसकेको जानकारी दिए। चोरीमा संलग्न युवकहरू विद्यालयकै छेउमा बसोबास गर्ने भएकाले पटक–पटक चोरी गर्ने मौका पाएको प्रहरीको भनाइ छ। प्रहरीले विद्यालय क्षेत्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।









