रौतहटमा लुटपाट प्रयास : दुई जना पक्राउ, अन्यको खोजी जारी

18

रौतहट – रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. १ स्थित झाझपुल नजिक लुटपाटको प्रयासमा संलग्न दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब १:३० बजे ७/८ जना अपरिचित व्यक्तिहरूले झाझपुल नजिक लुकेर बसेका थिए। उनीहरूले दुर्गाभगवती गाउँपालिका वडा नं. ३, मत्सरी निवासी करिब ३५ वर्षीय कृष्णमणी झालाई लक्षित गर्दै लुटपाटको प्रयास गरेका थिए। कृष्णमणी आफ्नो मोटरसाइकल (मधेश प्रदेश ०७-००१ प ०००४) मा सवार थिए।

घटनाबारे तत्काल सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोलीले तीव्र प्रतिक्रिया दिँदै कृष्णमणी झालाई सकुशल उद्धार गरेको छ। प्रहरीले घटनास्थलबाट दुई जना व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा अन्दाजी २२ वर्षीय मुकेश महतो र २० वर्षीय सिताराम महतो रहेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू फरार छन् र उनीहरूको खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) दिपक कुमार रायका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।