रौतहट / ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन आज रौतहटको चन्द्रनिगाहपुरमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा तथा चन्द्रपुर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।
पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरूलाई ट्राफिक कार्यालय अगाडि रोकी करिब ७० भन्दा बढी चालकहरूको रक्तचाप, रगतमा चिनी (ब्लड सुगर) र आँखाको परीक्षण गरिएको छ। परीक्षणसँगै आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको जनाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार, चालकहरूको स्वास्थ्य अवस्था कमजोर हुँदा दुर्घटना हुने सम्भावना उच्च हुने भएकाले यस्तो स्वास्थ्य परीक्षण गरिनु जरुरी भएको बताए। उनका अनुसार, लामो दूरीको सवारी सञ्चालन गर्दा मानसिक तथा शारीरिक थकान, दृष्टि समस्या र उच्च रक्तचापजस्ता कारणले दुर्घटना बढ्ने भएकाले चालकको स्वास्थ्य परीक्षणमार्फत सचेतना फैलाउन खोजिएको हो।
कार्यक्रममा सहभागी चिकित्सक डा. सुवास चौधरीले सडकमै स्वास्थ्य परीक्षण गरी चालकहरूको थकान, रक्तचाप, दृष्टि क्षमताजस्ता पक्षहरू जाँच गरिएको बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले पूर्व–पश्चिम राजमार्ग हुँदै दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।