नेपाल न्यायिक अभ्यास सेमिनार’ मा ईशनाथ नगरपालिकाको प्रतिनिधित्व

194

रौतहट — रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चीनको सांघाईमा आयोजित ‘नेपाल न्यायिक अभ्यास सेमिनार’ मा सहभागिता जनाउँदै नेपालका कानुनी अभ्यास, स्थानीय शासन प्रणाली र चीनको कानुन तथा आर्थिक प्रगतिबीचको सम्बन्धमा महत्वपूर्ण प्रस्तुति दिएका छन्।
आजदेखि सुरु भएको उक्त सेमिनार जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयको प्रायोजनमा तथा सांघाई बिजनेस स्कूलको आयोजनामा सम्पन्न भएको हो।
सेमिनारमा प्रशासकीय अधिकृत गुप्ताले नेपालको कानुनी संरचना, स्थानीय तहको कार्यक्षमता र विकासको विषयमा केन्द्रित प्रस्तुति दिँदै आफ्नो पालिका — ईशनाथ नगरपालिकाको समग्र विकास, सेवा प्रवाहमा भएको सुधार, पूर्वाधार निर्माण र जनसहभागिता आधारित योजनाको बारेमा विवरण प्रस्तुत गरे।
गुप्ताले नगर प्रमुख कौशल्या देवीको नेतृत्वमा नगरपालिका भित्र भइरहेका सकारात्मक परिवर्तनहरू, सुशासन प्रवर्द्धनका प्रयासहरू र स्थानीय कानुनी कार्यान्वयनबारे समेत अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराए।
उनको प्रस्तुतिलाई सहभागी विदेशी प्रतिनिधिहरूले चासोपूर्वक सुनेका थिए र नेपालका स्थानीय सरकारहरूको अभ्यासबाट केही सिक्न सकिने प्रतिक्रिया दिएका थिए। कार्यक्रममा नेपाल तथा चीनबीचको प्रशासनिक अनुभव आदानप्रदान तथा कानुनी सहकार्यलाई सुदृढ गर्ने उद्देश्य रहेको बताइएको छ।
ईशनाथ नगरपालिकाको तर्फबाट यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक भएको प्रत्यक्ष सहभागिता नगरका लागि गर्वको विषय बनेको छ।