दिलिप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिका–५ निवासी २० वर्षीय मनिष कुमार जैसवालले आफूलाई सड्यन्त्रपूर्वक फसाइ आर्थिक, मानसिक र शारीरिक शोषण गरेको आरोप लगाएका छन् । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले गौर–१ की ३८ वर्षीया पुजा जैसवालले जालमा पारी ब्ल्याकमेल गर्दै आएको दाबी गरे ।
मनिषका अनुसार पुजाले करिब २५ हजार रुपैयाँ बराबरको कपडा उनको पसलबाट खरिद गरी होम डेलिभरीको बहानामा गरुडा स्थित आशिर्बाद होटलमा बोलाएकी थिइन् । डेलिभरी गर्न जाँदा जुस पिउन आग्रह गरिएपछि आफूले खाँदा बेहोस भएको र बिहान उठ्दा लुगा नलगाएको अवस्थामा कोठाको ढोका खुला भेटिएको उनले बताए ।
उनले घटनाको तीन दिनपछि पुजाले आपत्तिजनक तस्बिर पठाई धम्की दिन थालेको र रकम माग्दै ब्ल्याकमेल गरेको बताए । मनिषले भने फोटो देखाएर भेट्न आउन भनिन् नत्र सार्वजनिक गरिदिन्छु भनेर धम्क्याइन् । त्यसपछि पटक–पटक गरी लाखौं रुपैयाँ लिइन् ।
उनको दाबी अनुसार, पुजाले उनको बैंक चेकबुक, मोबाइल सिम, र मोबाइल बैंकिङ सेवा समेत प्रयोग गर्दै आएकी थिइन् । भारतको बिहारस्थित कमतौलमा विवाह गरेकी पुजा जैसवालले नेपाली नागरिकता र भारतीय आधार कार्ड समेत बनाइसकेकी छन् ।
यता पुजा जैसवालले भने पत्रकारहरूसँगको भेटमा मनिषसँग ८ वर्षदेखि सम्बन्ध रहेको र उनले ८ लाख रुपैयाँ लिएर विवाह गर्न नमानेको आरोप लगाएकी छन् ।