राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

65

रौतहट । लैङ्गिक हिंसा विरुद्ध समानताको सन्देश फैलाउने उद्देश्यका साथ राजपुर नगरपालिकाले पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।इस्लामिक रिलिफ नेपालको सहकार्य र राजपुर नगरपालिका एवम आरडिसी को संयुक्त आयोजनामा लैङ्गिक हिंसा न्युनिकरण परियोजनाको क्रममा सुरु भएको प्रतियोगिता किशोरीहरूको खेलकुदमा सहभागिता अभिवृद्धि गर्ने दिशामा ऐतिहासिक कदम सावित भएको छ ।
आइतवारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह नगरपालिकाकी उपप्रमुख जमिला असगरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समारोहमा प्रमुख प्रशासनिक अधिकृत खुर्सैद आलम, सबै वडाध्यक्षहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । उपप्रमुख असगरीले आफ्नो मन्तव्यमा महिलाहरूको क्षमता विकास र लैङ्गिक समानताको सुनिश्चितताका लागि कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो ।
राजपुर नगरपालिकाका नगरप्रमुख डा.राजिक आलमको पहलमा आयोजना गरिएको प्रतियोगिताले नगरपालिकाका किशोरीहरूलाई खेलकुदमा सक्रिय हुने महत्वपूर्ण अवसर प्रदान गरेको छ । नगरप्रमुख आलमले किशोरीहरूलाई शिक्षा, खेलकुद र अन्य सृजनात्मक क्षेत्रमा सक्रिय बनाउन निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो किशोरीहरूलाई आत्मनिर्भर र सक्षम बनाउन खेलकुद जस्तै गतिविधिले ठूलो भूमिका खेल्दछ । यसरी उनीहरूको नेतृत्व विकाससँगै आत्मविश्वास पनि बढ्नेछ । महिला क्रिकेट प्रतियोगिताले लैङ्गिक हिंसाको अन्त्य र समानताको पक्षमा समुदायलाई जागरूक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । किशोरीहरूलाई खेलकुदमा संलग्न गराएर उनीहरूको मनोबल उच्च बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालय र वडास्तरीय टोलीहरूले सहभागिता जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासनिक अधिकृत खुर्सैद आलमले महिलाहरूको अधिकारका लागि खेलकुदजस्ता क्रियाकलापहरू प्रभावकारी माध्यम हुने भन्दै प्रतियोगिताको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम सफल बनाउन लैङ्गिक हिंसा निवारण परियोजना आईआर एण्ड आरडिसी नेपालको उल्लेखनीय भूमिका रहेको छ । आयोजकहरूले किशोरीहरूलाई अवसर प्रदान गरेकोमा आरडिसी नेपाललाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।
प्रतियोगितामा सहभागी खेलाडीहरू र स्थानीय बासिन्दाहरूले पनि कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् । किशोरीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि हुनुका साथै उनीहरूको आत्मविश्वास र नेतृत्व विकासमा समेत यस्ता कार्यक्रमले मद्दत गर्नेछन् भन्ने आशा गरिएको छ ।