रौतहट। इशनाथ नगरपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा मर्यादित बनाउन तथा नगर क्षेत्रका विद्यालयहरूको शैक्षिक स्तर सुदृढ पार्न प्रधानाध्यापकहरूसँग विशेष छलफल गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नगर क्षेत्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा अधिकृत गुप्ताले शिक्षाको गुणस्तर सुधारका लागि कुनै पनि प्रकारको हेलचक्र्याइँ नगरिने स्पष्ट गर्दै परीक्षा प्रणालीलाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक निर्देशन दिनुभयो।
उहाँले विद्यालयहरूको समग्र शैक्षिक सुधारका लागि विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, नगरपालिकाले शिक्षा क्षेत्रमा आवश्यक सबै प्रकारका सुधारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा उपस्थित प्रधानाध्यापकहरूले परीक्षा प्रणालीलाई मर्यादित बनाउने, विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्ने र विद्यालयको शैक्षिक वातावरण सुधार गर्न आवश्यक उपायहरूबारे आफ्ना धारणा राखेका थिए।
नगरपालिकाले आगामी दिनमा विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाउने, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्ने र विद्यार्थीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने योजना बनाएको छ।