रौतहट, माघ ११ – श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाको नयाँ १५ सदस्यीय कार्यसमिति गठन भएको छ। शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको सभाहलमा आयोजित कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय शोभा साहको विशेष उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको हो।
कार्यसमितिको अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन्। उपाध्यक्षमा राकेश यादव, महिला उपाध्यक्षमा पूजा जैसवाल, सचिवमा अभिमनु पटेल, सहसचिवमा मोहम्मद मोजिबुल्ला, समावेशी सहसचिवमा सोनु महतो, र कोषाध्यक्षमा जितेन्द्र दास चयन भएका छन्।
सदस्यहरूमा राधेश्याम साह, दिलिप पान्डे, सत्येन्द्र प्रताप सिंह, अरमान उपाध्याय, दिवेन्द्र साह, रौशन साह लगायतलाई चयन गरिएको छ।
कार्यक्रममा श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले पत्रकारहरूको हकहित सुनिश्चित गर्न बृहत् सञ्चार आन्दोलनको आवश्यकता औंल्याउँदै केन्द्र, प्रदेश र जिल्ला स्तरमा दबाब अभियान सञ्चालन गरिने बताए। सबै पत्रकारहरूलाई नियमित पारिश्रमिक, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, र नियुक्तिपत्र प्रदान गर्न दबाब दिने घोषणा गरिएको छ।
सो अवसरमा प्रमुख अतिथि माननीय शोभा साहले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएको भन्दै पत्रकारहरूलाई समाजका आँखा, कान र आवाजको रूपमा व्याख्या गरिन्। उनले सत्य र तथ्य उजागर गर्न पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै श्रमजीवी पत्रकारहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न प्रदेश सरकारबाट पहल गरिने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा नेपाली कांग्रेसका चिरञ्जीवी प्रताप सिंह, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साह, प्रेस मञ्च रौतहटका अध्यक्ष किशोरी यादव, तथा विभिन्न सञ्चार माध्यमका सम्पादक, पत्रकार र सञ्चालकहरूको उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिले रौतहटमा श्रमजीवी पत्रकारहरूको अधिकारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।