सुन लुटपाट गरेको आरोपमा रौतहटको दुई युवक पक्राउ

146

रौतहट // काठमाडौंको बुढानीलकण्ठ एरियामा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार बुढानीलकण्ठ एरियाबाट सुन लुटपाट गर्नमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्वर ४ घर भएका १९ बर्षिय सरोजकुमार साह र सोही स्थानका २० बर्षिय राधेश्याम साहलाई पक्राउ गरिएका हुन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलामा लगाइएको सिक्री सरोजकुमार साहले जेठ ४ गते लुटेको आरोप लागेको छ ।

पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी बूढानीलकण्ठ वडा नम्वर २ माथिल्लो भंगालमा जेठ ३ गते ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्याम साहले लुटेको आरोप लागेको छ ।

राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन । दुबै घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।