जनकपुरको होटलमा महिला–पुरुष मृत फेला

185

जनकपुर // धनुषाको जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत फेला परेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार रामानन्दचोकस्थित होटल होलिडेमा ३१ वर्षका हितेन्द्र पासवान र २५ वर्षीया प्रियंका कापर कोठाभित्र मृत फेला परेका हुन्।

उनीहरु दुवै जनाले आत्माहत्या गरेको प्रहरीको आशंका छ। हितेन्द्र महोत्तरीको पिपरा–३ का र प्रियंका महोत्तरीको लोहारपट्टी–४ की हुन्।
कोठामा प्रियंकाकी साढे २ वर्षकी छोरी पनि फेला परेकी छन्। उनीहरु दुवै जना विवाहित हुन्। तर श्रीमान–श्रीमती होइनन्।
कोठाभित्र प्रियंकाको बच्चा रोइरहेको सुनेपछि होटलका कर्मचारीले बाहिरबाट बोलाएका थिए। तर भित्रबाट ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले दुवै पक्षका परिवारलाई बोलाएर ढोका खोलेर हेर्दा दुवै जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उनीहरु चार दिनदेखि उक्त होटलमा बसिरहेका थिए। होटलबाहिर अहिले आफन्तले हल्लाखल्ला गरिरहेका छन्। भित्र प्रहरीले सनाखत गरिरहेको एसपी तिवारीले बताए।