रौतहट । रौतहटको बौधीमाइ नगरपालिका अन्तर्गत सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट बंकुलले श्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले भारततर्फ जान लागेको बेला परोहा नगरपालिका-८ का दिनेशप्रसाद कुशवाहालाई ५ लाख ९४ हजार रुपैयाँसहित शुक्रबार साँझ पक्राउ गरेको शसस्त्र प्रहरीका एसपी माधव रेग्मीले जानकारी दिए ।
बौधीमाई नगरपालिका–७ छोटी भन्सार हुँदै भारततर्फ गइरहेको बाग्मती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ हजारको ३४२ र ५ सयको ५०४ थान गरी ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको एसपी रेग्मीले बताए ।
बरामद रकम, मोटरसाइकल सहित कुशवाहालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।