तराईमा चिसो बढ्यो

217

रौतहट । रौतहटसहित तराईका जिल्लामा चिसो बढेको छ। शुक्रबारबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्।

केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा शुक्रबारबाट भने मधुरो घाम लागेर स्याँठ चलेकाले चिसो बढेको महसुस भएको स्थानीयले बताएका छन्।

चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन्। तराईका जिल्लाहरूमा बर्सेनि पुस, माघको जाडोले आय आर्जन न्यून भएका अति विपन्न र दलित परिवार प्रभावित हुने गरेका छन्। चिसो छल्न तराई मधेशका जिल्लामा घुर बालेर ताप्ने गरिन्छ।

 चिकित्सकहरूले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूको विशेष ख्याल गर्न आग्रह गरेका छन्।