रौतहटमा घट्यो घरेलु उद्योग दर्ता गराउनेको संख्या

437

रौतहट // रौतहटको गौरमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक बर्ष २०७९/८० मा ८ सय ७५ साना उद्योग दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७८/७९ मा १६ सय ९७ साना उद्योग दर्ता भएको थियो ।

विविध कारणले गर्दा आर्थिक बर्ष २०७९/८० मा उद्योग दर्ताको संख्या घटेको पाईएको हो । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा ८ सय २२ साना उधोग दर्ता कम भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयकान्त झाले बताउनुभयो । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उहाँको भनाइ छ ।

गत आव २०७८/७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उधोग दर्तामा वृद्धि भएको थियो । उहाँका अनुसार आर्थिक बर्ष २०७९÷८० मा ७५९ घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्य तर्फ ९४७ नयाँ दर्ता भएका छन् भने १ हजार २ सय ७१ वटाको नवीकरण भएको छ ।

सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएको उहाँको भनाई छ । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएको थियो भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटले जनाएको छ । चन्द्रपुर, गुजरा, वृन्दावन, कटहरिया र गढिमाई नगरपालिकामा लगायत स्थानमा साना उद्योग÷व्यवसाय तथा पसल गर्नेको संख्या बढिरहेको कार्यालय प्रमुख झाले बताउनुभयो ।

उहाँका अनुसार दर्ता भएकामध्ये उद्योग मध्ये अधिकांश कृषि फर्म रहेको छ । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उहाँको भनाइ छ । त्यस्तै २५ प्रतिशतमा फर्निचर, पार्लर, मोटरसाइकल मर्मत लगायतका व्यवसायहरू रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयले उद्यमशीलता कार्यक्रममा २ सय ४, सीपमूलक तालिम एडभान्सतर्फ १ सय ५, भगत सर्वजित तर्फ सिलाइ, कटाइ, कम्प्युटर तालिम १ सय २३ र नियमित तर्फ ३ सय १ जनालाई तालिम प्रदान गरेको छ ।

आर्थिक बर्ष २०७९/८० मा एडभान्सतर्फ गरुडा, कटहरिया, गौर नगरपालिका, भगत सर्वजित तर्फ गौर, चन्द्रपुर, कटहरिया र दुर्गाभगवती गाउँपालिकामा, नियमिततर्फ गौर, चन्द्रपुर नगरपालिका र उद्यमशीलता गौर, चन्द्रपुर नगरपालिकामा र दुर्गाभगवती गाँउपालिकामा तालिम सञ्चालन भएका छन् । कार्यालयको आर्थिक बर्ष २०७८/७९ मा बेरुजू नरहेको र आर्थिक बर्ष २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ ।

कार्यालयमा स्वीकृत दरबन्दी नौ जना रहेकोमा पदपूर्ति संख्या चार रहेको र रिक्त पद संख्या पाँच रहेको जनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक बर्ष २०७९/८० उद्योग तर्फबाट ६७ लाख ५८ हजार २ सय र वाणिज्यतर्फ १ करोड २ लाख ७७ हजार ८ सय ५० राजस्व संकलन गरेको छ । रौतहट जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।