रौतहट ।। बेला बेलामा विभिन्न विषयलाई लिएर विवादमा आउने गरेका रौतहट जिल्लाको इशनाथ नगरपालिकामा फेरि नयाँ विवाद सुरु भएको छ ।
तत्कालीन विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका सन्तोष मेहता नगरपालिकालाई पटक–पटक विवादमा तान्ने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पटक पटक चर्चामा आउने इशनाथनपाका मेयर मेहताले विद्यालयको पठन–पाठन बन्द गरेर क्रिकेट प्रतियोगिता हेर्नका लागि नगरपालिका भरि दुई दिन विदाको विषय अहिले चर्चामा छ । औरैयामा रहेको जनता माध्यमिक विद्यालयको मैदानमा भइरहेको खेलको अन्तिम चरणको खेल बाँकी रहेकोले सो मा सहयोग गर्ने भन्दै फागुन २५ र २६ गते सार्वजनिक रुपमा नगरपालिका भरि विदा दिइएको सूचना सार्वजनिक भएदेखि व्यापक आलोचना सुरु भएको छ । यस अघि मेहताका भाई बब्लु मेहता भनिने मोहन मेहता नेकपा एमालेका नेता प्रभु साह समर्थक रहेकोले काठमाण्डुमा बसेर हाकिम फेर बदल गर्ने चलखेल गर्ने गरेको छ भने आफ्नो अनुकूल वातावरण नमिले पछि मेयर मेहता निमित्त प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराउने षड्यन्त्र रच्ने गरेको स्थानीयहरुको आरोप छ ।
सातांै तहमा रहेका शाखा अधिकृत नन्दकिशोर गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यरत रहेका उपसचिवलाई अर्को व्यवस्था नभए सम्म कटहरिया नगरपालिकाको जिम्मेवारी दिइ निमित्त प्रमुख प्रशासकीय अधिकृतमा गुप्तालाई खटाए पछि मेयर मेहता हावादारी रुपमा विदा दिएर मन्त्रीलाइ गुहार्न काठमाण्डु पुगेका हुन् । जनता समाजवादी पार्टीका नगर अध्यक्ष राम नारायण यादवले इशनाथ नगरपालिकामा भएको अनियमितता लुकाउनको लागि मेयर मेहता आफ्नो पक्षको हाकिम ल्याउन पटक पटक षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा २१ करोड रुपैयाँ बेरुजु भएको पहिलो नगरपालिकाको रुपमा परिचित भएका इशनाथ नगरपालिका अहिले पनि १५ करोड भन्दा बढी रकम बेरुजुको लिस्टमा रहेको छ । कमिशनको भरमा योजना वितरण गर्ने मेयर मेहताले बजेट दुरुपयोग गर्न तथा जिम्मेवारी पाएका निमित प्रमुख प्रशासकीय अधिकृत गुप्तालाई कार्यालयमा हाजिर हुन् नदिनको लागि षड् यन्त्र पूर्वक विदा दिएको नगर अध्यक्ष यादवको भनाइ छ । माण्डवी संस्थाको लगानीमा नगरपालिकामा गरिब ,दलित , अपांगलाइ वितरण गरिने राहत सामग्री रोक्न गरेको प्रयासको कारण आलोचनाको शिकार भएका मेयर मेहताले भने म स्थानीय सरकार प्रमुख भएको नाताले जुन सुकै बेला विदा दिन सकिने अधिकार भएको दाबी गरेका छन् ।