चितवन // चितवनको देवघाट गाउँपालिका ३ का वडाध्यक्ष कृतिमान आलेको भीरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव हिजो घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भीरमा फेला परेको हो । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीबार बेलुकी साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिँडेका थिए । पार्टी कामले बिहीबार दमौली जान भन्दै घरबाट निस्किएकाले उनको त्यसदिन बेलुका खोजी नभएको परिवारले बताएको छ ।
तीन दिनदेखिको खोजीको क्रममा वडाध्यक्षको शव हिजो अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका हुन् । उनको शव सडकबाट ५० मिटर तल भीरबाट निकालिएको थियो । शव पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको प्रहरी नायव निरीक्षक एकनारायण आचार्यले बताए ।