सरकारले एक साताअघिको बेमौसमी वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलनका लागि कार्यदल गठन गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।
गृह सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गरिएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरिएको पनि जानकारी दिए। प्रवक्ता कार्कीले निगमको अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरिएको बताए। सरकारले सेना र प्रहरीको रासन १५ प्रतिशत वृद्धि गरेर उपलब्ध गराउने पनि निर्णय गरेको कार्कीले जानकारी दिए।