महोत्तरी ७ कात्तिक । स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टिएको हो ।
चार वर्षअघि विजयी भएका अरुणकुमार चौधरीले कुर्सी छाड्नुपरेको छ । नेपाली कांग्रेसबाट त्यतिबेला विजयी बनेका चौधरीको ठाउँमा एक वर्षका लागि रमेशकुमार राय आएका छन् ।
अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार राय विजयी भएका छन् । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीले २६७ मत ल्याए । २६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित बने ।
०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको सार्वजनिक गरिएको थियो । बराबर मत आएपछि गोलाप्रथा गरी कांग्रेसका चौधरीलाई विजयी गराइएको थियो ।
त्यतिबेला धाँधली भएको भन्दै स्वतन्त्र उम्मेदवार रायले उजुरी दिएका थिए । अदालतमा दिएको उजुरीअनुसार पुनः मतगणना हुँदा रायले जितेका हुन् ।
नेपाल वाचबाट सभार गरिएकाे छ ।