स्वदेश तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नगरले सम्मेलन

1125

बारा-निजगढ नगरपालिकाले नगर भित्र लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने भएको छ । स्मार्ट नगर भित्र आधुनिक लगानी भित्र्याउन स्वदेश तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नगरले सम्मेलनको आयोजना गर्न लागेको हो ।
“हामी सम्मेलन पूर्वको तयारीमा जुटेका छौं,” नगर प्रमुख सुरेश खनालले भने, “स्मार्ट सिटीको स्मार्ट औद्योगिक आयोजनाहरु भित्र्याउन लगानी सम्मेलन गर्न थालेका छौं ।”

“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ–काठमाडौं द्रुतमार्ग, रेलमार्ग, निजगढ स्मार्ट सिटी, पर्यटकीय क्षेत्र, कृषि, शिक्षा, सुरक्षालगायतका दृष्टिकोणले निजगढ प्रचुर सम्भावना भएकोले लगानी सम्मेलनको तयारी गरेका हौं,” खनालले भने, “जनप्रतिनिधि र स्थानीय व्यवसायी लगायत व्यापारीसँगको छलफल पछि प्रक्रिया थालेका छौं ।”
विशेषगरी कृषि, शिक्षा, पर्यटन, स्वास्थ्यलगायत वातावरणमैत्री क्षेत्रमा लागानीका लागि पहल गरिने सम्मेलनको लक्ष्या रहेको छ ।
नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्धेश्यले लगानी सम्मेलनको आयोजना गर्न लागिएको जनाइएको छ । सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिने स्थानीय जनप्रतिनिधि र व्यवसायीहरुको विश्वास छ ।
स्थानीय तहको निर्वाचन भएसँगै यहाँ विकासका कामले थप गति लिएका छन् । राष्ट्रिय गौरवका महत्वपूर्ण ठूला आयोजनाको निर्माण भइरहेकाले निजगढमा लगानी गर्नका लागि उपयुक्त गन्तव्य बन्दै गएपछि पछिल्लो समय तीव्र शहरीकरण भइरहेको क्षेत्र हो ।
राष्ट्रिय गौरव र राष्ट्रिय आयोजनाहरु रहेको निजगढमा हाल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ– काठमाडौ द्रुतमार्ग, पूर्वपश्चिम र उत्तर दक्षिण रेलमार्गको ट्रान्जिट, निजगढ स्मार्ट सिटी, निजगढ–सिम्रौनगढ हुलाकी मार्ग, निजगढ–अमलेखगञ्ज सडक, निजगढदेखि मकवानपुरको फापरवारी जोड्ने सडक, निजगढदेखि मकवानपुरको धियाल जोड्ने सडकलगायतका योजनाहरुको काम धमाधम भइरहेको छ । लगानी सम्मेलनका प्रमुख आधारहरुका कृषि, शिक्षा, पर्यटन, लगाएतका विषय रहने छन् ।याे काराेबार दैनिकमा समाचार राखिएकाे छ ।