जाडोबाट जोगाउन फाइबर कम्बल वितरण

110

दिलीप पाण्डे रौतहट । रौतहटको गरुडा नगरपालिकाले चिसोको मौसममा अति गरिब तथा विपन्न समुदायका नागरिकलाई राहतस्वरूप फाइबर कम्बल वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा बुधबारदेखि सुरु गरिएको राहत अभियानले पहिलो दिन गरुडा नगरपालिकाको वार्ड नं.३ मलाहिटोलका ११० जना विपन्न परिवारलाई फाइबर कम्बल प्रदान गरेको छ ।
नगरपालिकाले जाडोका कारण बढी प्रभावित हुने अति गरिब तथा विपन्न वर्गका नागरिकलाई प्राथमिकतामा राखेर राहत वितरण सुरु गरेको हो । नगर प्रमुख जैसवालले अभियान नगरपालिकाका सबै वडाहरूमा सञ्चालन गर्ने बताउँदै नगरवासीलाई चिसोबाट सुरक्षित राख्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगर प्रमुख जैसवालले भने, चिसो मौसममा सबैभन्दा बढी प्रभावित हुने वर्ग अति गरिब र विपन्न समुदाय हो । उनीहरूलाई जाडोबाट जोगाउन फाइबर कम्बल वितरण गरेर सघाउन पाउँदा खुसी लागेको छ । यो अभियान नगरका प्रत्येक वडामा पु¥याइनेछ र हाम्रा नागरिकको सुरक्षाका लागि नगरपालिकाले सधैं पहल गर्नेछ ।
पहिलो दिनमा ११० जना अति गरिब र विपन्न परिवारलाई फाइबर कम्बल वितरण गरेका छन । नगरपालिकाका नगर प्रमुख जयसवालले नगरका लक्ष्य समूहका अति गरिब, विपन्न वर्गका परिवारलाई नगरका सबै वडामा राहत वितरणलाई निरन्तरता दिने बताएका छन ।
स्थानीयबासीले पनि नगरपालिकाको नगर प्रमुख जयसवालको सहरानीय कामको स्वागत गर्दै चिसोबाट जोगिन वितरण गरिएका फाइबर कम्बलले ठुलो सहयोग पु¥याउने बताएका छन । यस्तो पहलले नगरपालिकाको जनमुखी र समावेशी चरित्र झल्काएको छ ।
नगरपालिकाले यस्ता राहत कार्यक्रमहरूलाई निरन्तरता दिँदै विपन्न वर्गको जीवनस्तर उकास्न र चिसोको प्रभाव कम गर्न विभिन्न पहल गर्ने योजना बनाएको छ । साथै, अन्य आवश्यक सहयोगका कार्यक्रमहरू पनि सञ्चालन गर्न नगर प्रमुखले प्रतिबद्धता जनाएका छन् । अभियानले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउने विश्वास लिइएको छ । कार्यक्रममा सोहि वार्डको पुर्व अध्यक्ष ननिपत सहनी, नेकपा एमालेको वार्ड प्रत्यायशि पारस सहनी, युवा नेता बलराम सहनी, समाजसेवी जयलाल सहनी, रत्नेश्वर प्रसाद साह, मंगल सहनी, बिरेन्द्र सहनी लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।
सुरक्षित आप्रवासनको अभियानमा गौर नगरपालिकाको रैली सम्पन्न
दिलीप पाण्डे रौतहट । मधेश प्रदेश सरकारले “सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२४ विशेष कार्यक्रम आयोजना गरेको छ । गौर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको संयुक्त पहलमा यो रैली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूले सुरक्षित आप्रवासनको आवश्यकता र प्रवासी कामदारहरूको हकहित संरक्षणबारे जनचेतना फैलाउन नगरको विभिन्न ठाउँमा रैली गरेका थिए। रैली गौर नगरपालिका कार्यालयबाट सुरु भई बी.पी. चौकसम्म पुगेको थियो। कार्यक्रममा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश सरकार, र स्थानीय निकायहरूको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले आप्रवासी कामदारहरूका समस्या समाधानका लागि सूचनाको पहुँच, सीप विकास, र श्रम अधिकारको संरक्षणमा जोड दिएका थिए। स्थानीय अधिकारीहरूले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि सरकारको तर्फबाट चालिएका कदमहरूबारे जानकारी गराउँदै भने, “सूचना र सीप बिना गरिने आप्रवासनले कामदारहरूलाई जोखिममा पार्न सक्छ। यसलाई रोक्न जनचेतना अत्यावश्यक छ।“
कार्यक्रममा महिला तथा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको थियो। रैलीपछि दीप प्रज्वलन कार्यक्रममार्फत आप्रवासी कामदारहरूको हकहित र सुरक्षित आप्रवासनका लागि प्रतिबद्धता जनाइएको थियो ।
कार्यक्रमको समापनमा आयोजकहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।