रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु

271

रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्।

इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।

विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित सांसद र जनप्रतिनिधिसमेतको उपस्थितिमा छलफल भएको थियो।
छलफलमा सहमति भएपनि दुई पक्षबीच पुनः झडप भएपछि स्थानीय प्रशासनले पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप गाउँ र दक्षिणमा जयनगर प्रहरी चौकी चार किल्ला तोकेर कर्फ्यु जारी गरेको हो।

स्थानीय प्रशासनले अर्को आदेश नआएसम्म कर्फ्यु जारी रहने जनाएको छ।

कर्फ्यु जारी भएको क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाईने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुक प्रदशर्न गर्न, घेराउ र्‍याली गर्न, एवम अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने आदेशमा उल्लेख छ।

प्रशासनले आदेशको बर्खिलाफ भए कडा कारबाही गर्ने चेतावनी दिएको छ।